Monday, July 27News That Matters

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको अनलाइन उजुरी प्रणाली सुरु

वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुली तथा श्रमिकमाथिको शोषण नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगार विभागले अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ।

मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विभागमा आयोजित कार्यक्रममा उक्त प्रणालीको औपचारिक शुभारम्भ गर्नुभयो। अब वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी वा अन्य समस्यामा परेका सेवाग्राहीले मोबाइल वा कम्प्युटरमार्फत घरमै बसेर उजुरी दर्ता गर्न सक्नेछन्।

मन्त्री यादवका अनुसार उजुरीसँग सम्बन्धित आवश्यक प्रमाणसमेत अनलाइनमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ। उजुरी दर्ता भएपछि आवेदकले इमेल वा एसएमएसमार्फत प्राप्त हुने ट्र्याकिङ कोड प्रयोग गरेर आफ्नो मुद्दाको प्रगति जुनसुकै बेला अनलाइनबाट हेर्न सक्नेछन्।

उहाँले २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी पुराना उजुरीका फाइललाई व्यवस्थित गर्दै डिजिटलाइज गर्ने काम पनि अघि बढिरहेको जानकारी दिनुभयो।

मन्त्री यादवले वैदेशिक रोजगारीमा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्यसहित सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रहरी तथा अनुसन्धान निकायसँगको समन्वयमा ठगीमा संलग्न व्यक्तिहरूलाई जहाँ भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो।

यसअघि मन्त्री यादवले वैदेशिक रोजगार विभागको सेवा प्रवाह र कामकारबाहीको अनुगमन गर्नुका साथै सेवाग्राहीसँग प्रत्यक्ष भेटेर उनीहरूका गुनासा पनि सुन्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *