Monday, July 27News That Matters

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

काठमाडौं, साउन ५ । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार छनोटका लागि कोरियन भाषापरीक्षाको आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। 

नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्र (एमओयू) अनुसार यसपटक विभिन्न चार क्षेत्रमा गरी ७ हजार २ सय जना नेपाली कामदारको माग आएको छ। प्राप्त कोटाअनुसार उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

कोरियन भाषा परीक्षाका लागि आवेदन २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ।

आवेदन दिन इच्छुक उम्मेदवार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुक जान प्रतिबन्ध नलगाएको तथा ई–९ वा ई–१० भिसामा कोरियामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने योग्यता तोकिएको छ।

भाषा परीक्षाको आवेदन शुल्क २८ अमेरिकी डलर निर्धारण गरिएको छ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि दोस्रो चरणको परीक्षा सञ्चालन गरिनेछ।

ईपीएस कोरिया शाखाका अनुसार अन्तिम परीक्षामा सफल उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म वैध रहनेछ। साथै, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र दक्षिण कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको शाखाले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *