Monday, July 27News That Matters

वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारमा हुने ठगी, बढी शुल्क असुली तथा सम्झौताविपरीतका सेवासम्बन्धी गुनासा अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रीको उपस्थितिमा मंगलबार वैदेशिक रोजगार विभागले ‘उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको हो।

विभागका अनुसार अब स्वदेश वा विदेशमा रहेका पीडित तथा उनका परिवारले ujuri.dofe.gov.np मार्फत आवश्यक प्रमाणसहित अनलाइन उजुरी दर्ता गर्न सक्नेछन्। वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम लिएर नपठाउने, बढी शुल्क असुल्ने, राहदानी कब्जामा राख्ने वा विदेश पुगेपछि सम्झौताअनुसारको तलब, काम र सेवा–सुविधा नपाएको जस्ता गुनासा प्रणालीमार्फत दर्ता गर्न सकिनेछ।

उजुरी दर्तापछि सेवाग्राहीले इमेल वा एसएमएसबाट प्राप्त ट्र्याकिङ कोडमार्फत मुद्दाको प्रगति अनलाइनमै हेर्न सक्नेछन्। विभागका अनुसार यस प्रणालीले उजुरी व्यवस्थापनलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै पीडितलाई पटक–पटक काठमाडौं धाउनुपर्ने बाध्यता पनि घटाउने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *